एजेन्सी, १४ माघ –इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपअन्तर्गत आइतबार राति सम्पन्न चाैथाै चरणकाे खेलमा साबिक विजेता चेल्सी विजयी भएको छ। घरेलु मैदान स्टाम्फोर्ड व्रिजमा भएको खेलमा चेल्सीले शेफिल्ड वेइन्स्डेलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
चेल्सीको जितमा ब्राजिलियन फरवार्ड विलियनले २ गोल तथा इंग्लिस उदीयमान फरवार्ड हड्सन ओडोइले १ गोल गरे। पाहुना टोली वेइन्स्डका हटचिन्सनले चेल्सीका एज्पिलिक्युएटामाथि डि–बक्समा फाैल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीकाे सदुपयोग गर्दै विलियनले घरेलु टोली चेल्सीलाई शुरुआती अग्रता दिलाए।
दोस्रो डिभिजनको क्लब वेन्स्डेविरुद्ध हाबी देखिएको चेल्सीले पहिलो हाफमा १–० काे अग्रता कायम राख्यो। त्यस्तै, खेलको ६६ औं मिनेटमा डेनिस डिफेण्डर आन्ड्रेस क्रिस्टियनसेनको पासमा उदीयमान फरवार्ड हड्सन ओडोइले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। निर्धारित ९० मिनेटको खेल सकिन ७ मिनेट बाँकी हुँदा विलियनले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै आठ पटकको विजेता चेल्सीको पाँचौं चरणमा स्थान सुरक्षित गरे।
पछिल्लो खेलमा उतारेको टिममा सात खेलाडी परिवर्तन गरेका चेल्सीका प्रशिक्षक माउरिज्यो सारीले केही दिनअघि युभेन्टसबाट लोनमा भित्र्याएका गोन्जालो हिग्वेनलाई पनि शुरुआती ११ मा समावेश गरेका थिए। त्यस्तै, र्जमन ह्याभिवेट बार्यन म्युनिखले भित्र्याउन चाहेका १८ वर्षीय फरवार्ड ओडोइलाई पनि शुरुवाती एघारमा समावेश गरिएको थियो।