खेमराज सापकोटा/इटहरी, १३ माघ – ए डिभिजन लिग विजेता मनाङमर्स्याङदी क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्ड कपको सेमीफाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा आयोजक राष्ट्रिय जागृती क्लबलाई घरेलु मैदानमा २–१ गोल अन्तरले स्तब्ध पार्दै मनाङ अघिल्लो चरणमा प्रवेश गरेको हो।
इटहरी रंगशालामा भएको दोस्रो खेलमा मनाङले खेलको ३७औं मिनेटमा सुजल श्रेष्ठको गोलबाट शुरुआती अग्रता लिएको थियो। यसअघि खेलको ३३औँ मिनेटमा उमेश कार्कीको प्रहार मनाङका गोल रक्षकले रोकेपछि जागृतिले अग्रता लिने माैका गुमाएकाे थियो।
राष्ट्रिय टोलीका समेत कप्तान रहेका बिराज महर्जनकाे कप्तानीमा रहेकाे मनाङलाई घरेलु टोली जागृतिले दबाबमा राखेपनि गाेल गर्न भने सकेन।
प्रतिस्पर्धात्मक खेलको ६३औँ मिनेटमा आयोजकका उमेश राईले बराबरी गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए। तर त्यसकाे ८ मिनेट नबित्दै कमल श्रेष्ठले मनाङका लागि दाेस्रो गोल गर्दै पुनः अग्रता दिलाए। खेलको अतिरिक्त समयसम्म पूर्णरुपमा प्रयासरत आयोजक टोलीले थप गोल गर्न नसकेपछि पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
खेलको निर्णायक गोलकर्ता मनाङका कमल श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। श्रेष्ठलाई नगद २० हजार प्रदान गरिएकाे छ।
प्रतियोगितामा सोमबार थ्रीस्टार क्लब काठमाण्डौं र विभागीय टोली नेपाल आर्मी क्लब आमने सामने हुँदैछन्।