काठमाडौँ, १३ माघ – नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद गगन थापाले उद्यमशीलताबिना समृद्धिको सपना र योजना साकार हुन नसक्ने बताएका छन्।
थापाले बदलिँदो राजनीतिक परिवेशलाई उद्यमशीलतासँग गाँस्न सके राष्ट्र समृद्ध बन्ने धेरै समय नलाग्ने धारणा राखेका छन्। ‘उद्यमशीलताबाट मात्रै समृद्धिको सपना र योजना साकार हुन्छ,’ थापाले भने।
उद्यमशील कांग्रेसले आयोजना गरेको ‘आन्टरप्रेनर वीथ एमपी’ कार्यक्रममा सांसद थापाले राष्ट्रको समृद्धि र विकासका लागि बाहिरिएको जनशक्तिलाई पनि नेपालभित्रै रोजगारी दिन सक्ने गरी राज्यले कार्यक्र बनाउनु पर्ने बताएका छन्।
उद्यमशील कांग्रेसका संयोजक अश्मिन सिटौलाका अनुसार नवउद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सांसदहरुसँगको संवाद प्रारम्भ गरिएको हो।
‘नीति निर्माता र उद्यमीबीच पुल भएर काम गर्ने हाम्रो उद्देश्य हो, उनले भने, ‘नेपालमा समृद्धिको अभियान प्रारम्भ गर्नका लागि युवा शक्ति परिचालन गर्नुपर्छ, युवाको क्षमतालाई उपयोग गर्नुपर्छ।’
सिटौलाले राष्ट्रलाई समृद्ध बनाउने सुनौलो अवसर संविधानले नै सुनिश्चित गरिसकेकाले अब सबै युवाहरुलाई एकीकृत गरेर नेपालमा उद्यम अभियानमा लगाउनु पर्ने बताएका छन्।
कार्यक्रममा मेनेजमेन्ट एशोसिएशन नेपालकी जेनिशा भट्टराई, आइएमएस ग्रुपका डिकेश मल्होत्रा, फ्याक्ट नेपालका मनिष झा, फुडमाण्डुका मनोहर अधिकारी, टुटलका शिक्षित भट्ट लगायतका अन्य विशेष उद्यमीहरुको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै उद्यमीहरु डिकेश मल्होत्रा, शिक्षित भट्ट, मनोहर अधिकारी लगायतले नेपालमा लगानीका सम्भावना, चुनौती र सरकारले गर्नुपर्ने कामका विषयमा आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
