सुर्खेत, १३ माघ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले नेकपा नेतृत्वको सरकारलाई सच्चिन आग्रह गरेको छ। सरकारले ‘संसदमा प्रतिपक्षलाई पेल्ने र सडकमा शान्तिपूर्ण बिरोधमा उत्रेका नागरिकहरुलाई ठेल्ने’ नीति अबलम्बन गरेको तरुण दलको ठहर छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल तरुण दलद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय नेताहरुले सरकार नसच्चिए सडकबाटै ढालिदिने चेतावनी दिएका छन् ।
अध्यक्ष जितजङ्ग बस्नेतले नेकपाको दुईतिहाई सरकारले संविधानका धारा च्यात्ने लागेको आरोप लगाए। उनले भने, ‘वर्तमान सरकारले सुशील कोइरालाले बनाएको संविधानका धारा च्यातिरहेको छ, यसरी संविधानविरुद्ध जाने नै हो भने तरुण दल शीरमा कफन बाँधेर भएपनि आन्दोलनमा होमिन्छ। कम्युनिस्टसँगको यो अन्तिम लडाइँ पनि हो।’
त्यस्तै तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाहीले वर्तमान सरकारले दुई तिहाई मतको दुर पयोग गरेको जिकिर गरेका छन्।
उनले भने, ‘सरकार दुई तिहाईको अहंकार बोकेर हिडिरहेको छ, महंगी, भ्रष्टाचार, बलात्कार जस्ता घटनाहरुले मुलुकलाई अशान्त पारेको छ, यस्तो स्थितिमा सरकारमा रहेको नेकपा गैर जिम्मेवारपूर्ण तर्फ दिएर हिडिरहेको छ, संसदमा प्रतिपक्षको कुरा सुन्न सक्ने हिम्मत गर्दैन।’
बिरोध सभा कार्यक्रमा तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले सरकारका गलत कार्यविरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए।