काठमाडाैं, १३ माघ –नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी रोहित कुमार पौडेलले युएइविरुद्धको खेलमा अन्तर्राष्ट्रिय कीर्तिमान बनाएका छन्। शनिबार भएको दोस्रो एकदिवसीय सिरिजमा ५८ बलमा ५५ रन जोडेका १६ वर्षीय राेहितले विश्व क्रिकेट जगतका हस्ती सचिन तेन्दुल्करको कीर्तिमान तोड्दै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन्।
पौडेलले १६ वर्ष १ सय ४६ दिनको उमेरमा अर्धशतक प्रहार गरेका हुन्। यसअघि पाकिस्तानविरुद्धको टेस्टमा भारतीर क्रिकेटर सचिन तेन्दुल्करले १६ वर्ष २ सय १३ दिनको उमेरमा अर्धशतक प्रहार गरेर कीर्तिमान राखेका थिए। त्यस्तै, ओडिआईको इतिहासमा पाकिस्तानी पूर्वकप्तान शाहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनकाे उमेरमा श्रीलंकाविरुद्ध खेल्दै अर्धशतक बनाएर कीर्तिमान राखेका थिए।
विश्व क्रिकेट जगतमा आफ्नो छाप छोड्दै गरेको पौडेलको ब्याटिङको मद्दतमा नेपालले यूएईविरुद्ध ५० ओभरमा २ सय ४७ रन जोडेको थियो। बलिङतर्फ पनि नेपाली युवा बलरहरु सोमपाल कामी र सन्दीप लामिछानेको दबदबा रहेको खेलमा यूएईविरुद्ध नेपालले १ सय ४५ रनको शानदार जित हासिल गर्याे।
सन् २००२ सेप्टेम्बर २ तारिखका दिन नवलपरासी जिल्लामा जन्मिएका पौडेलले २०१५ अगस्टमा नेदरल्याण्डस् विरुद्धको खेलमा १५ वर्ष र ३ सय ३५ दिनको हुँदा डेब्यु गर्दा उनी विश्वकै चौथो कान्छो खेलाडी पनि बनेका थिए। एकाएक चर्चाको शिखरमा पुगेका पौडेलले आइसीसीको ओडिआईतर्फको बरियतामा पर्ने कान्छा खेलाडी अफगानिस्तानका राशिद खानसँगको कीर्तिमान पनि बराबरी गरेका छन्।
२०१८ मे महिनामा भएको खेलमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक एकदिवसीय मान्यता पाएको थियो। कीर्तिमानी पौडेललाई विश्वव्यापी रुपमा बधाईको ओइरो लागेको छ।
https://twitter.com/my_iplclub/status/1089138401889185794
https://twitter.com/SkyCricket/status/1089149727176867842
https://twitter.com/ESPNcricinfo/status/1089206257012170753
https://twitter.com/SirJadeja/status/1089222755650809857
https://twitter.com/ICC/status/1089106776228855809
https://twitter.com/thefield_in/status/1089376199493611525