काठमाडौँ, २३ माघ – सर्वाधिक रूचाइएको अनलाइन गेम पब्जी को काठमाडौँमा राष्ट्रिय प्रतियोगिता हुने भएको छ। डिल्लीबजारमा रहेको रोटर्याक्ट क्लबले सामाजिक सेवाको उद्देश्यकासाथ प्रतियोगिता आयोजना गर्न लागेको हो।
नार्गाजुनस्थित आमा नेपाल बालगृहमा रहेका बालबालिकाहरुका लागि सञ्चालित ग्रिन स्कलरसीप कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जानकारी दिएकाे छ। प्रतियोगितामार्फत संकलित रकम उक्त अनाथ गृहमा रहेर अध्ययनरत बालबालिकाहरुको शैक्षिक अवस्था सुदृढीकरणमा खर्च गर्ने क्लबको लक्ष्य रहेको छ।
यसका साथै नेपालका पब्जीप्रेमी युवाहरुलाई एउटै सतहमा ल्याएर विश्वस्तरीय खेलाडी उत्पादनमा टेवा पुर्याउने पनि लक्ष्य रहेकाे आयोजकले बताएको छ। युवा वर्गलाई लक्षित गरी आयोजना गर्न लागिएको यो प्रतियोगिता माघ २४ गते शुरु भई २७ गतेसम्म चल्नेछ। खेल साँझ ६ बजेदेखि रातको ११ बजेसम्म सञ्चालन हुनेछ।
‘भ्यालेन्टाइन डे स्पेशल’ नाम दिइएको यस खेलमा लक्की ड्र मार्फत एक जोडीलाई ‘भ्यालेन्टाइन स्पेशल डेट’ टिकट प्रदान गरिने कार्यक्रमका संयोजक निश्चल पुरीले जानकारी दिए।
प्रतियोगितामा भाग लिन क्लबले उपलब्ध गराएको गुगल फम भर्नु पर्नेछ। त्यस्तै, प्रतिव्यक्ति रु. ५० दर्ता शुल्क लाग्नेछ। दर्ता शुल्क खल्ती एपबाट भुक्तानी गर्न सकिने बताइएकाे छ।
विजेतालाई पचास हजार रुपैया नगदका साथै केएफसीमा रात्रिकालिन भोज (चिकेन डिनर)को व्यवस्था गरिएको छ। त्यस्तै, उपविजेताले नगद दश हजार नगद र अन्य उपहार प्राप्त गर्नेछन्। उष्कृष्ट ३ सर्वाधिक किलरहरुलाई केएफसीको रोयल पास प्रदान गरिनेछ। ५ जना भाग्यशाली विजेताहरुले गिफ्ट ह्यामपरसमेत प्राप्त गर्ने संयोजक पुरीले जानकारी दिए।
प्रतियोगितालाई खल्ती, ब्रिज वाटर, बि एण्ड बी, फेट्र लगायतले प्रायोजन गरेका छन्। खेलका सम्पूर्ण नियम तथा प्रक्रियाहरु राट्याक्ट क्लब अफ डिल्लीबजारले फेसबुक पेज नेसनल पब्जी टुर्नामेन्ट फेसबुक ग्रुप मार्फत सार्वजनिक गरिएको छ।
https://www.facebook.com/rcdillibazar/photos/gm.358814014909758/2044148872289457/