कास्की, १३ माघ - पोखरा रङ्गशालाभित्र करिब १० रोपनी जमिनमा ह्याण्डबल एकेडेमी निर्माण गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल ह्याण्डबल सङ्घ तथा जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा नेपालमै पहिलो पटक एकेडेमीकाे निर्माण गरिएकाे हाे।
९९ लाख रुपैयाँको लागतमा एकेडेमी निर्माण गरिएको नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताए। एकेडेमीमा ह्याण्डबल मैदान, सभाहल, महिला–पुरुष चेन्जिङ रुम, स्टोर, किचन, प्रशासनिक कक्ष लगायतका संरचना निर्माण गरिएको छ। ४०/२० मिटरको ह्याण्डबल मैदानमा दुई लेनको प्याराफिट निर्माण गरिएको छ।
सो एकेडेमीको शनिबार उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले खेल पूर्वाधारको निर्माणले गण्डकी प्रदेशमा खेलकुदको विकासमा टेवा पुग्ने बताए।
एकेडेमी निर्माणले ह्याण्डबल खेलको तल्लो तहबाटै विकास गराउन थप मद्दत पुग्ने अपेक्षा सङ्घको छ। नेपालमा हुने दक्षिण एशियाली खेलकुद (साग)लाई लक्षित गरी सो एकेडेमी निर्माण गरिएको बताइन्छ।
यसैबीच, कास्की जिल्ला ह्याण्डबल सङ्घको आयोजना तथा नेपाल ह्याण्डबल सङ्घको प्राविधिक सहयोगमा यही माघ ९ गतेदेखि शुरु भएको चौथो संस्करणको ‘एकता बुक्स अन्तरविद्यालय छात्रछात्रा ह्याडबल’ प्रतियोगितामा छात्रातर्फ पोखरा एकेडेमी र छात्रतर्फको उपाधि माउण्ट अन्नपूर्ण स्कुलले जितेका छन्। (रासस)