काठमाडौँ, १२ माघ –नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा विरोध जनाउँदा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरे देशै ठप्प पर्ने चेतावनी दिएका छन्।
शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउँदा पक्राउ परेका चार कार्यकर्तालाई तत्काल रिहा गर्न अध्यक्ष महरले माग गरेका हुन्। उनले ओली सरकार निरंकुशता लाद्ने बाटोतिर अग्रसर रहेको टिप्पणी गर्दै यसको प्रतिरोधका लागि तयार रहन विद्यार्थीहरुलाई आव्हान गरेका छन्।
त्यस्तै महासचिव कुन्दनराज काफ्लेले पक्राउ परेका चारै जनालाई ससम्मान रिहा गर्न माग गरेका छन्। काफ्लेले सरकारप्रतिका विमतिहरु स्वतन्त्रतापुर्वक राख्न पाउने संविधानप्रदत्त अधिकारको सम्मान गर्दै लोकतान्त्रिक व्यवहार प्रस्तुत गर्न ओलीलाई आग्रह गरे।
कालोझण्डा देखाउने क्रममा नेवि संघका केन्द्रीय नेताहरु सुशील भट्ट, निरञ्जन थापा, सुवास घिमिरे र सुदीप अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुलाई गौशालास्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ।
डा. गोविन्द केसीसँग भएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक जबरजस्ती संसदबाट पास गरेको विरोधमा नेवि संघले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको थियो।