काठमाडौं १२ माघ – विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंने भएका छन् । बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् विश्व अर्थराजनीतिबारे बहस भएको थियो । स्विट्जरल्यान्डको डावोस पुगेका प्रधानमन्त्री ओली दुई वटा औपचारिक सत्रमा सहभागी भएका थिए।
‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ र ‘लोकतन्त्रको भविष्यलाई आकार दिने’ नामक दुई सत्रमा मंगलबार र बुधबार आफ्ना धारणा प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय फोरममा नेपालमा लगानी वातावरण बनेको सन्देश दिएका छन् ।
उनले लोकतन्त्रका लागि ५० वर्ष लडेको र करिब डेढ दशक जेल बसेको व्यक्ति भएकोले शासक हुन नसक्ने र जनताको सेवक बन्ने बाचा गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, योजना आयोगका उपाध्यक्ष र सरकारी अधिकारीसहित २४ जना सहभागि भएका छन् ।