काठमाडौँ, ११ माघ – उद्यमशील कांग्रेसले शनिबार नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापासँग अन्तरक्रिया गर्ने भएको छ।
नेपालमा उद्यमशीलताको विकास तथा प्रवर्द्धन गर्नका निम्ति स्थापना भएको साझा फोरम उद्यमशील कांग्रेसले सांसद थापासँग नीतिगत विषयमा अन्तरक्रिया गर्न लागेको हो।
उद्यमशील कांग्रेसका संयोजक अश्मिन सिटौलाका अनुसार नेपालमा उद्यमशीलताको संस्कृतिलाई अझै व्यवस्थित गर्ने उद्देश्य लिएर सांसदहरुसँग संवादको थालनी गरिएको हो।
होटल हायातमा शनिबार ‘आन्टरप्रेनर वीथ एमपी’ कार्यक्रममा थापासँग विभिन्न क्षेत्रमा सफल उद्यमीहरुले अन्तरसंवाद गर्ने सिटौलाले जनाए।
उद्यमी सिटौलाको अवधारणा अनुसार नेपालमा नयाँ परियोजना ल्याउने प्रयास स्वरुप यस्तो बहसको थालनी गरिएको हो।
बागमती स्कुल र कलेजका निर्देशक समेत रहेका सिटौलाले व्यवसायीहरु डिकेश मल्होत्रा, शिक्षित भट्ट, मनोहर अधिकारी लगायत पनि कार्यक्रममा सहभागी हुने जनाए।
‘नेपालमा उद्यमशीलताको विकास गरी लोकतन्त्रलाई समृद्ध बनाउने प्रयास हाम्रो हो,’ सिटौलाले भने, ‘सांसदहरुसँग अन्तरक्रिया गर्दा उद्यमको कुरा नीतिनिर्माण गर्ने तहसम्म पुर्याउन सकिन्छ, त्यसैले यो कार्यक्रमको थालनी गरिएको हो।’