काठमाडौँ, ११ माघ – नेपाली कांग्रेसले शुक्रबार सत्तारुढ घटक र यसको नेतृत्वले जबरजस्ती बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक पास गर्नुलाई अधिनायकवादी आकांक्षाको प्रष्फुटन भनेको छ।
दुईतिहाइको दम्भमा नेकपाको सरकार र यसको नेतृत्वले राख्दै आएको अदृश्य अधिनायकवादी चरित्रलाई शुक्रबारको घटनाले प्रष्ट पारेको ठहरमा कांग्रेस पुगेको हो।
नेपाली कांग्रेसले यस घटनाबारे आफ्नो मत सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जतिसुकै लोकतन्त्रको राग अलापेपनि उनीहरुको विपक्षीरहीत राज्य प्रणालीप्रतिको शास्त्रीय विश्वास र निष्ठा कायम रहेको उनीहरुको चरित्रले देखाएको उल्लेख गरेको छ।
यसै प्रसंगमा प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयन नगर्न सरकार, नेकपा र सभामुख कृष्णबहादुर महरा समेतको संगठित प्रयत्न रहेको बताउँदै नेपाली कांग्रेसले भनेको छ, ‘यसले प्रधानमन्त्री नागरिक विश्वासमा गम्भीर ढंगले ह्रास आएको छ।’
जनताको शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी भनेर नथाप्ने नेकपाले आफ्नै घोषणापत्रलाई लत्याउँदै एउटा निश्चित वर्गको पक्षपोषणका निम्ति दुईतिहाइ बहुमतको सेवालाई अर्पित गरेर नागरिकको मनोभावनामाथि कुठाराघात गरेको नेपाली कांग्रेस ठहर छ।
‘जनहितका विरुद्धमा चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास भएको घोषणा गरेर सत्तारुढ घटकले दुईतिहाइ बहुमतको विवेकलाई निलम्बन मात्रै गरेको नभई गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा खुलेका अस्पतालको नामोनिशाना मेट्ने दृष्प्रयास गरेर सरकारले द्वन्द्वका लागि आमन्त्रिक गरेको छ, नेपाली कांग्रेस पनि चाँडै नै यस सम्बन्धमा आफ्नो दृष्टिकोणका साथ राष्ट्रव्यापी कार्यक्रमका साथ जनसमक्ष आउने छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आधिकारीक धारणा व्यक्त गरेका छन्।