काठमाडौं, ११ माघ – सरकारले संसदबाट जबरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै विवेकशील साझा पार्टीले बिरोध जनाएको छ। आज मात्रै संसदबाट सरकारले चौतर्फि बिरोधका बीच चिकित्सा शिक्षा बिधेयक पास गरेको छ ।
साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यद्धारा विज्ञप्तीमा भनिएको छ,‘डा.गोविन्द केसीसँग सरकारले गरेको संझौता विपरितका कयौं प्रावधान समाविष्ट चिकित्सा शिक्षा विधेयक आज संसदबाट जबरजस्ती पारित गरिएकोमा विवेकशील साझा पार्टी त्यसको घोर भत्सर्ना गर्दछ।’
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको आफूलाई समाजवादी भन्ने सत्तारूढ दलबाट नै खिल्ली उडाइनु अत्यन्तै खेदजनक छ। संसदीय सर्वोच्चताको गलत प्रयोग भएको छ। सिमीत नेता र व्यापारीको लगानी र मुनाफा सुरक्षित गर्न र याराना पुँजिवाद क्रोनि क्यापिट्यालिजमलाई प्रश्रय दिएर सिमीत नेता, पार्टी र व्यापारीको हित हुने र आम जनताको अहित हुने कार्य भएको छ। कल्याणकारी लोकतन्त्रमा विश्वास गर्ने विवेकशील साझा पार्टी शिक्षा र स्वास्थ्यलाई मूलरूपमा राज्यको दायीत्व ठान्दछ। सोही विश्वासका कारण शुरूदेखि नै हाम्रो पार्टीले डा गोविन्द केसीले उठाएका मागहरूको मर्ममा समर्थन जनाउँदै आएको छ।
सरकारले जबरजस्ती संसदीय मर्यादालाई मिचेर संसदीय सर्वोच्चताको दुरूपयोग गरेको विरोधमा र डा गोविन्द केसीसँगको संझौताको पक्षमा विवेकशील साझा पार्टीले आइतबार, माघ १३ गते, माइतिघर मण्डलामा प्रदर्शन गर्नेछ। उक्त प्रदर्शनमा आम सर्वसाधारणलाई सरीक हुन विवेकशील साझा पार्टी हार्दिक अनुरोध गर्दछ।’
प्रवक्ता
डा.सूर्यराज आचार्य
विवेकशील साझा पार्टी
मितिस् ११ माघ २०७५