काठमाडौँ, ११ माघ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको सरकार हिटलरपथमा हिँडेको आरोप लगाएका छन्।
दुईतिहाइको बलमा प्रतिपक्षीलाई पेलेर शुक्रबार संसदबाट चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गरेपछि प्रवक्ता शर्माले ओली सरकारलाई तानाशाहीको पितामह हिटलरको उपाधि दिएका हुन्।
शर्माले संसदबाट जबरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरेको घोषणा गरेलगतै एउटा ट्वीटमार्फत् बहुमतको बलमा विवेक गुमाएका हिटलर ‘नेस्तानाबुँद’ भएजस्तै अन्ततः नेकपा सरकार पनि हिटलरीपथमार्फत नामेट हुने बताएका छन्।
‘चिकित्सा शिक्षा विधेयक जबरन पारित गरेपछि नेकपाको सरकार विजयी भावले मदमस्त उडिरहेको भ्रममा होला, तर यो भ्रमले वर्तमान सरकारलाई पाठ मात्रै सिकाउँदैन, उसलाई निकट भविष्यमै दण्डित समेत गर्ने छ,’ प्रवक्ता शर्माले भनेका छन्।
शर्माले गरेको कवितात्मक ट्वीटः
आज स्वीट्जरलाण्डमा
जर्मनीका हिटलर मुस्कुराएका छन्
काठमाडौँको सत्ताको ओठमा,
सिगारको धुँवा
दुब्लो
विजयी भावले उडिरहेको छ!
निर्मम हुन्छ इतिहास
यसले पाठ सिकाउँछ मात्र होइन
नसिक्नेलाई दण्डित पनि गर्छ!
बहुमतको बलमा
विवेक गुमाएका हिटलर
अन्तत नामेट भए
मुस्कान ओइलाएर समयसँगै!!