महेन्द्रनगर, ११ माघ – कञ्चनपुरको पुनर्बास नगरपालिका–११ डोकेबजारस्थित सीमा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण कार्य थालेपछि उत्पन्न विवादबारे नेपाली पक्षले स्थलगत अनुगमन गरेको छ।
सहायक जिल्ला अधिकारी शंकरबहादुर बिष्टको नेतृत्वमा सीमा क्षेत्रमा पुगेको नेपाली टोलीले भारतले गरेको ड्रिल निर्माणबारे अध्ययन गरेको हो।
सहायक जिल्ला अधिकारी बिष्टले भारतले एकतर्फी रुपमा ड्रिल निर्माण गर्न थालेपछि स्थलगत निर्माण गरिएको बताए। उनका अनुसार भारतले सीमावर्ती डोकेबजारस्थित भारतको दुधुवा राष्ट्रिय निकुञ्ज किनारमा बाँध निर्माण गर्न लागेको छ।
दशगजा क्षेत्रमा नेपाली पक्षसँग सहकार्य नगरी स्थायी संरचना निर्माण थालेकाले तत्काल निर्माण कार्य रोक्न भारतीय पक्षलाई आग्रह गरिएकको छ। साथै केहीदिनमै आधिकारीक रुपमा दुई पक्षीय छलफग गरी विवाद समाधान गर्ने सहमति भएको सहायक जिल्ला अधिकारी बिष्टले बताए।
त्यस्तै, स्थलगत अनुगमनमा रहेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले भारतीय पक्षले मनोमानी तरिकाले सीमानामा बाँध निर्माण गरेपछि विवाद उत्पन्न भएको बताए।
भारतले दशगजा क्षेत्रमा बाँध निर्माण गरेपछि वर्षातमा महना नदीले नेपाली भूभाग डुबान पर्ने भएकाले स्थानीयले निर्माण कार्यको विरोध गरेको चन्दले बताए।
स्थानीयले उक्त क्षेत्र सीमा करिडोर रहेको र जंगली हात्ती समेत हिँड्ने बाटो भएकाले पर्खाल निर्माण नगर्न भारतीय पक्षलाई आग्रह गरेका छन्।
भारतीय पक्षले नेपालीमा भूमिबाट फोहोर बेगर निकुञ्जमा पस्ने साथै निकुञ्जबाट चोरी निकासी हुने गरेकाले दुई किलोमिटर पर्खाल निर्माण गर्न लागेको जनाएको छ।
भारतीय वन विभागले पुनर्बास नगरपालिका–११ डोकेबजारको ७५३/१७१ नम्बर पिलर क्षेत्रदेखि ड्रिल बनाउन शुरु गरेको छ।
भारतीय पक्षले एकलौटी ढङ्गबाट सीमा क्षेत्रमा बाँधजस्तै ड्रिल निर्माण गर्नका लागि नेपाली पक्षसँग सहमतिबिनै बनाएपछि स्थानीयले बिहीबार विरोध गरेका थिए।
स्थलगत अनुगमनमा कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कठायत, सशस्त्रका प्रमुख एसपी विनोद श्रेष्ठ, पुनर्वास नगरपालिका नगर प्रमुख लगायतका जनप्रतिनिधिको सहभागिता रहेको थियो।