कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तगर्त समूह बीको अन्तिम अवे खेलमा जोर्डनबिरुद्ध नेपाल पराजीत भएको छ। अम्मान अन्तरराष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल जोर्डनबिरुद्ध ३–० ले पराजित भएको हो।
गोलरहित पहिलो हाफ खेलेको नेपालले दोश्रो हाफमा त्यो लय कायम राख्न नसक्दा तीन गोल व्यहोर्नु परेको हो।
दोश्रो हाफमा पेनाल्टीमार्फत अग्रता लिएको जोर्डनले त्यसपछि थप दुई गोल गर्यो। पहिलो हाफमा घरेलु टोलीको आक्रामक प्रहार गोलकिपर किरण चेम्जोङले बिफल पारेपछि नेपालले पहिलो हाफमा जोर्डनविरुद्ध गोलरहित बराबरी खेलेको थियो।
खेलको ५६औं मिनेटमा नेपालले गोल खायो। फिरास शालबयाले पेनाल्टीबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाए। खेलको ७८औं मिनेटमा अहमद इर्सानले गोल गरेपछि जोर्डन २-० गोलले अघि रहृयो।
दुई गोल खाएसँगै निकै दबावमा आएको नेपालले खेलको ८८औं मिनेटमा अर्को गोल खान पुग्यो। बाहा फइसलले गोल गर्दै जोर्डनलाई ३-० गोलको जित दिलाए।
यो हारसँगै नेपालले चार खेलबाट तीन खेलमा हार र एक खेलमा जित हात पार्दै तीन अंक बनाएर समूह ‘बी’ को चौथो स्थानमा छ। विजेता जोर्डनको भने तीन खेलबाट दुई खेलमा जित र एक खेलमा बराबरीसहित सात अंक भएको छ।
त्यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले चाइनिज ताइपेईलाई ७-१ गोलअन्तरले पराजित गरेको छ।