काठमाडौं, १० माघ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् यूवा नेता मिन विश्वकर्माले नेविसंघको बारेमा आजै छिनोफानो नहुने बताएका छन्। नेता विश्वकर्माले केन्द्रीय समितिको बैठकले नेविसंघको १२औं महाधिवेशनको बारेमा निर्णय गर्ने भनिएपनि आजै निर्णय आउने सम्भावना कम रहेको बताएका हुन्।
नेपाली पब्लिक डटकमसँगको कुराकानीमा नेता विश्वकर्माले भने, ‘नेविसंको बारेमा केन्द्रीय समितिमा गहिरो छलफल हुन्छ, केन्द्रीय समितिका साथीहरुले बोल्नुहुन्छ, आफ्ना धारणाहरु राख्नुहुन्छ, सकेसम्म आजै नभए भोलिसम्म म्याद थप्ने या तदर्थ समिति चयन गर्ने भन्नेबारेमा निर्णय हुन्छ।’
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय पार्टी कार्यालय जारी बैठकमा नेपाल विद्यार्थी संघको भविष्य निर्धारण गर्ने नेताहरुले बताएका छन्। केही समयअघि नेविसंघको एक गुटले पत्रकार सम्मेलन गरेर पार्टीको केन्द्रीय समिति बैठकले वर्तमान संघको नेतृत्व खारेज गर्नुपर्ने माग गरेका थिए।
तदर्थ समिति खडा गर्न आग्रह गरिरहेको संघको असन्तुष्ट समुहले अध्यक्ष नैनसिंह महरले १२औं महाधिवेशन सम्पन्न गर्न नसक्ने दाबी गरिहरहेको छ। वर्तमान कार्य समितिको गत साउनमा म्याद सकिएको थियो। त्यसपछि दुईपटक म्याद थप गर्दासमेत नेविसंघको नेतृत्वले संघको महाधिवेशन गर्न सकेन। संघको वर्तमान कार्यसमितिलाई विघटन गर्नुपर्छ भन्ने र तदर्थ समिति बनाउने भन्ने दुवैखाले विचार पार्टीभित्र व्यक्त भइरहेकाले के निर्णय हुन्छ ? भन्ने यकिन छैन।
नेविसंघ कस्तो हुने? कसरी अगाडि बढाउने ? वर्तमान नेतृत्वको म्याद थप्ने या तदर्थ समिति खडा गर्ने? भन्ने विषयमा आज बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ। त्यस्तै आजको बैठकमा सरकारले संसदमा पेस गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयककाे बारेमा पनि छलफल हुने नेता विश्वकर्माले जानकारी दिएका छन्।