एजेन्सी, १० माघ – कर छली गरेको आरोप खेपिरहेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न सहमत भएका छन्।
मुद्दा सुल्झाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिएपनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानून अनुसार दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानु नपर्ने भएकाले राेनाल्डाेले जरिवानमा उन्मुक्ति पाएका हुन्।
त्यसअघि उनले सञ्चारमाध्यमको नजरबाट जोगिनलाई भन्दै कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन आग्रह गरेका थिए। पाँच पटकसम्म युरोपको ’बालन डो’र’ अर्थात् सुनौलो बल पुरस्कार जितेका रोनाल्डो विश्वका उत्कृष्टमध्येका एक फुटबल खेलाडी हुन्।
यी स्टार खेलाडीले सन् २०११ देखि २०१४ सम्म रियल म्याड्रिड फुटबल क्लबका लागि खेल्दा विदेशी कम्पनीमा खाता खोली कल छलेको आरोप लगाइएको थियो।
रोनाल्डोले कर छलेको विवरण पहिलो पटक सन् २०१७ मा बाहिर आएको थियो। त्यतिबेला अभियोजनकर्ताहरूले उनीबाट ’जानाजान’ कर छली भएको बताएका थिए।
तर रोनाल्डोका वकिलहरूले नियतवश कर छलेको नभई स्पेनी कानून बारेको असमझदारीका कारण त्यस्तो हुन गएको बताएका छन्।
रोनाल्डोले अर्को मुद्दा पनि झेलिरहेका छन्। सन् २००९ मा बलात्कार गरेको उनीमाथि आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन्। (रासस)