काठमाडाैँ, ९ माघ –प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक उन्नति र दीगो विकासका निम्ति बहानाबाजी गर्नेहरुका लागि अब कुनै किसिमको माफी नदिने बताएका छन्।
स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा ओलीले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले दुई सदनात्मक संसद् तथा प्रधानमन्त्रीप्रणालीय नेपाल कानूनी राज्यको सुनिश्चितता, विधि र प्रक्रियामा दृढ अठोट रहेको बताउँदै सरकार केन्द्रीकरणको पक्षमा नरहेको प्रष्ट पारे।
ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन्। ओलीले आफूले नेपाली जनताका निम्ति प्रजातन्त्रका लागि आधा शताब्दी निरन्तर संघर्ष गरेको र वर्षौंवर्ष कारागारमा कठिनतम समय बिताएको स्पष्ट पारेका हुन्।
‘नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले लोकतान्त्रिक वातावरण संरक्षण, दीगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको छ,’ ओलीले भने। उनले नेपाली लोकतन्त्रमा राजनीतिक अधिकार तथा स्वतन्त्रता व्यापक रहेको बताए।
उक्त सत्र सत्ताधारी राजनीतिक उच्च वर्गलाई निराश पार्दै विश्वभरका मतदाता सुधार र सुस्पष्ट विचार दिने चाहना राखी राजनीतिक परिवर्तन गर्ने नयाँ राजनीतिक पुस्तातर्फ फर्केको र समसामयिक विश्व राजनीति तथा उनीहरुले लोकतन्त्रको भविष्यलाई कसरी निर्धारण गर्दैछन् भन्ने मूल विषयमा आधारित थियो।
प्रधानमन्त्री ओलीले नेपालले सन् २०१५ मा लोकतान्त्रिक संविधान जारी गरेको र त्यो पूर्णतया प्रजातान्त्रिक एवं प्रगातिशील रहेको बताउँदै शक्ति पृथकीकरण, राज्य सञ्चालनमा नियन्त्रण तथा सन्तुलन, स्वतन्त्र न्यायपालिका र विधिको शासनमा रहेर वर्तमान सरकार विकास–निर्माणको मार्गमा अग्रसर भएको जानकारी दिए।
दुई सदनात्मक संसद् तथा प्रधानमन्त्रीप्रणालीयुक्त नेपाल कानूनी राज्यको सुनिश्चितता, विधि र प्रक्रियामा दृढ अठोट रहेको बताउँदै प्रधानमन्त्रीले सरकारले केन्द्रीयकरण गर्ने कुनै भावना नराखेको स्पष्ट गरे। उनले आर्थिक उन्नयन र दीगो विकासका खातिर बहानाबाजी गर्नेहरुका लागि अब माफी दिने कुनै व्यवस्था नभएको उल्लेख गरे।
तीन वटै तहको निर्वाचन हालको सत्तारुढ दलले नगराएको र चुनाव गराउनेहरु हाल प्रतिपक्षमा रहेको जानकारी दिँदै ओलीले ती सबै निर्वाचन शान्तिपूर्ण वातावरणमा स्वतन्त्र, स्वच्छ तथा निष्पक्ष ढङ्गले भएको बताए।
नेपाली जनताको परिवर्तनको चाहना साकार तुल्याउनमा नै सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताउँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को लक्ष्य साकार पार्न सुशासन कायम गर्दै आर्थिक विकासमा नै सरकारले अर्जुनदृष्टि दिएको प्रष्ट पारे।
ओलीले लोकतन्त्र जनताले नै आफ्ना लागि बनाएको सुसभ्य शासन प्रणाली भएको बताउँदै नेपालमा पनि जनताले निरङ्कुश प्रणालीलाई हटाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति स्थापना गरेको जानकारी दिए।
‘सजगतासँगको सम्बन्धबारे सोधिएको एक जिज्ञासाको जवाफमा ओलीले प्रजातन्त्रमा प्रेससँग सधैँ सामान्य सम्बन्ध रहने र आफ्नो पनि सम्बन्ध सामान्य नै रहेको बताउँदै भने, ‘निरङ्कुशतन्त्रमा मात्र शासकको प्रशंसा गर्न प्रेसलाई नियन्त्रण गरिन्छ, लोकतन्त्रमा प्रेसले आलोचना गर्नु सामान्य हो।’