काठमाडौँ, ९ माघ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा कार्यसमितिको पदावधि समाप्त भएको नेपाल विद्यार्थी संघ, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीति गगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेसको भ्रातृ संगठन नेविसंघ केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ। कांग्रेसमा नेविसंघको नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने सम्बन्धमा छलफल भइरहेको छ।
हालको कार्यसमिति २०७३ साल भदौ २ गते भएको ११औं महाधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्वाचित भएको थियो। कूल १६५ सदस्यीय कार्यसमितिका ५२ पदाधिकारी र सदस्यले पदबाट सामूहिक राजीनामा दिइसकेका संघका नेता प्रेम जोशीले जानकारी दिए।
त्यस्तै पार्टीको गत मंसिर २८ देखि पुस ८ गतेसम्म भएको महासमिति बैठकले विधान संशोधनको प्रस्ताव प्राप्त सुझावलाई मध्यनजर गर्दै केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको थियो।
विधानमा खासगरी केन्द्रीय सदस्यले पार्टीका स्थानीय तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो।
केन्द्रीय कार्यसमिति बैठकको तयारी र खासगरी नेविसंघको सम्बन्धमा के गर्ने भनी परामर्श गर्न बुधबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो। रासस