काठमाडौं, ९ माघ -सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने जनाए । उनले भने,‘माघ ११ गते बस्ने बैठकमा यो विद्येयक हामी ट्याक्कै पारित गर्छौं। पास हुन्छ। मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ । किनभने त्यसको नजिर चाहीँ कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाईसक्नु भएको छ।’
उनले भने, ‘नेपाली कांग्रेसका साथीहरुलाई म रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन आग्रह गर्छु । उहाँले स्थानीय तहसम्बन्धी विद्येयक पास गर्दा तत्कालिन् नेकपा एमालेले संसद अवरोध गर्यो । मन्त्रीले रोष्ट्रममा गएर त्यो विद्येयक प्रस्तुत गर्न सक्नुभएन । तर, सभामुख पौडेलले तपाई जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विद्येयक प्रस्तुत गर्नुस भनेर मन्त्रीलाई भन्नुभयो । सामान्यतयः मन्त्रीले रोष्ट्रममा गएर विद्येयक प्रस्तुत गर्ने चलन हुन्छ । र, पौडेलजीले त्यतिवेला मन्त्रीलाई बसेकै ठाउँबाट विद्येयक टेबुल गर्न लगाउनुभयो । र, पास गर्नुभयो । म नेपाली कांग्रेसका साथीहरुलाई त्यो कुरा पनि हेर्न भन्छु ।’
संसदको आफ्नै अधिकार हुने सुनाउँदै उनले चिकित्सा शिक्षा विद्येयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे । उनले भने,‘त्यतिवेला विद्येयक पास भैहाल्यो । हामीले विरोध गर्यौं । नेपाली कांग्रेसले ज्यादती गर्यो भन्यौं । अब अहिले पनि नेपाली कांग्रेससँग त्यो अधिकार छ । कम्युनिष्ट पार्टीले ज्यादती गर्यो भन्नुहोस, तर विद्येयक पारित गर्ने कुरालाई रोक्न पाईँदैन् ।’
संसद आफ्नो पार्टीको लागि आत्मा हो, पर्यावाची हो भन्ने कांग्रेसजस्तो पार्टीले संसदलाई यसरी खिल्ली उडाउन नहुने उनको भनाई छ । उनले भने,‘व्यवस्थाप्रतिको जनताको विश्वास गुम्न सक्छ । त्यो डगमगाउन सक्छ । ०१७ सालमा त्यस्तै भएको थियो । नेपाली कांग्रेसका साथीहरुलाई यो विद्येयक मन परेको छैन भने तपाईहरु मतदानको माग गर्नुहोस । आफ्नो विपक्षमा मत हाल्नुहोस । ती सबै अधिकारहरु छन् नि, त्यसलाई प्रयोग गर्नुहोस। ती अधिकारलाई प्रयोग नगरी संसदलाई बन्धक बनाउने कुरा राम्रो होईन।’
उनले गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेका अस्पतालको सञ्चालनको सम्पूर्ण जिम्मा नेपाल सरकारले लिनेपनि विश्वास दिलाए । उनले भने,‘यी दुवै अस्पतालको सञ्चालनको सम्पूर्ण जिम्मा सरकारले लिन्छ । त्यसमा बजेटको व्यवस्थापन गर्ने, व्यवस्थापन समिति बनाउनेदेखि लिएर अरु जे–जे गर्नुपर्छ हामी गर्छौं ।’
कांग्रेसले संसद अवरोध गरेपनि, नगरेपनि र कांग्रेसले भनेपनि नभनेपनि गिरिजा र सुशिल कोइरालाका नामका अस्पतालहरु चल्ने उनले जिकिर गरे । यद्धपी उनले त्यहाँभित्र विकृति र विसंगतिहरु छन् भने सरकारले छानबिन गर्नेपनि स्पष्ट पारे । उनले भने,‘सुशिल कोइराला र गिरिजाबाबुको नाममा के-के हडप्न खोजिएको छ, त्यो हडप्न चाहीँ हामी दिँदैनौं । त्यो सार्वजनिक सम्पत्तिको रुपमा रहनुपर्छ । ती अस्पतालहरु चल्छन् ।’