एजेन्सी, ९ माघ –पाकिस्तानविरुद्धको दाेस्रो वान डे क्रिकेटमा मंगलबार घरेलु टोली दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको छ। ब्याटिङ तथा बलिङ दुवैतर्फ उत्कृष्ठ प्रदर्शन गरेका एन्डिल फेहलुकवेओको महत्वपूर्ण योगदानमा अफ्रिकाले ५ विकेटको शानदार जित निकालेको हो।
दोस्रो इनिङ्गमा ब्याटिङका लागि मैदानमा उत्रेको अफ्रिकाले निर्धारित ५० ओभरमा २ सय ४ रनको लक्ष्य ४२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो।
सम्हालिएर ब्याटिङ गरेका अफ्रिकी ब्याट्स म्यान रस्सी भान डर दुसेन १ सय २३ बलमा ९ चौकाको मद्दतमा ८० रन जोड्दै अविजित रहे। त्यस्तै, एन्डिल पनि ८० बलमा २ छक्का र ७ चौका प्रहार गर्दै ६९ रनमा अविजित रहे। अर्का ब्याट्स म्यान डेविड मिलरले ३१ रन जोडे। पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले ३ र शादव खानले २ विकेट लिए।
खेलको पहिलो इनिङ्गमा टस हारेर ब्याटिङ थालेको पाकिस्ताले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३ रन जोडेको थियो। आठौं विकेट जाँदा सम्म तहसनहस भएको पाकिस्तानका लागि हसन अली र कप्तान सरफराज अमिदले ९० रनको महत्वपूर्ण साझेदारी गर्दै सम्मानजनक लक्ष्य सम्म पुर्याए।
बलिङ्गतर्फ दक्षिण अफ्रिकाका एन्डिलले ९ दशमलव ५ ओभरमा २ मेडन सहित २२ रन खर्चेर ४ विकेट लिएका थिए। त्यस्तै तबरेज शम्सीले ३ र कागिसो रबाडाले २ विकेट लिए। यो जितसँग पाँच वान डे को श्रृंखला १–१ को अवस्थामा पुगेको छ। पहिलो खेल पाकिस्तानले ५ विकेटले जितेको थियो। यी दुइ महारथीबीचको तेस्रो खेल शुक्रबार हुनेछ।