काठमाडौँ, ८ माघ – संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका नेवि संघका नेता–कार्यकर्तामाथि प्रहरीले ज्यादती गरेको छ। प्रहरी दमनमा महामन्त्रीसहितका केन्द्रीय नेताहरु घाइते भएका छन्।
नेवि संघका केन्द्रीय सदस्य सुशील भट्टका अनुसार गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल विघटन गर्न लागेको सरकारको कदमविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको हो।
त्यसैगरी, डा. गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न पनि प्रदर्शनकारीहरुले माग गरेका छन्।
नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भइरहेको विरोधमा प्रहरी दमन हुँदा नेवि संघका महामन्त्री कुन्दनराज काफ्ले, उपसभापति रामप्रसाद अधिकारी, नेता मनिष सिम्खडा लगायतका केही नेताहरु घाइते भएका छन्।