बुटवल, ८ माघ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार लोकतन्त्र मास्न उद्धत रहेको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज, रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको विचार गोष्ठिलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो आरोप लगाएका हुन्।
उनले भने, ‘सरकार लोकतन्त्रको भर्याङ चढेर अधिनायकवादको बाटोमा लम्किरहेको छ, प्रजातान्त्रिक संस्कारमाथि प्रहार गर्दै अघि बढेर लोकातान्त्रिक संस्कारलाई धरापमा पार्ने काम गर्दैछ, यसको बिरूद्ध सम्पूर्ण कांग्रेस कार्यकताहरू एकजुट हुनुको विकल्प छैन।’
उनले सरकारले जनताको बीचमा गरेको कुनै पनि बाचा पूरा गर्न नसकेको बताए। नेता पौडेलले भने, ‘अहिले वर्तमान दुई तिहाईको सरकारले जनताको आधारभूत आवश्यकताहरू शिक्षा, स्वास्थ्य, रोजगार कुनै पनि पूरा गर्न सकेन। सरकार दुई तिहाईले झनै ग्रस्त बन्यो।’
पौडेलले पार्टीको १४औं महाधिवेशन निर्धारित मितिमै हुनुपर्नेमा जोड दिए। उनले भने, ‘अब हामीले कार्यसमितिको अवधि बढाउन हुँदैन, मैले पटक–पटक विभिन्न फोरममा सययमै महाधिवेशन गराउनुपर्छ भन्दै आएको छु। अब समयमा नै महाधिवेशनमा जानुपर्छ। यसो गर्न सकिएन भने दुर्भाग्य हुन्छ।’
कांग्रेसका भातृ संगठनहरू सिद्धान्त अनूकूल नचल्दा पार्टी निर्वाचनमा पराजित भएको पौडेलको दावी छ। उनल अघि थपे, ‘जनताले कांग्रेसको सिद्धान्तलाई पत्याए। तर संगठनलाई राम्रो मानेनन्। कांग्रेसको विचार निर्वाचनले जित्यो तर कांग्रेसले निर्वाचन हार व्यहोर्नुपर्ने अरु कुनै कारण छैन।’
पार्टीका नेतालाई निरकुंश बनाउन नहुने भन्दै अहिले कांग्रेसको विधान पूर्ण लोकतान्त्रिक बनेको पौडेलको दावी छ। पौडेलले विधान समावेशी बनाएको र कांग्रेसको महासमिति बैठकले एउटा अनुपम लोकतान्त्रिक र अनुपम समावेशी विधान दिएको बताए।
त्यस्तै कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले मुलुकको परिवर्तनको लागि युवाहरू एकताबद्ध हुनुपर्ने बताए। कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले विकासको मुख्य बाधक भ्रष्टचार भएको भन्दै त्यसको विरूद्ध लड्नुपर्ने बताए। उनले भने, ‘यो विकृति अन्त्यका लागि लडनुपर्छ। यसका पछाडि पर्नु हुँदैन।’
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले समाजले कांग्रेसलाई ‘वाच एण्ड डग’ को भूमिकामा रहेको बताए। कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, समाजका रुपन्देही अध्यक्ष रामराज पोखरेल, सचिव डिल्लीनारायण पाण्डे लगायतले आफ्ना कुरा राखेका थिए।