एजेन्सी, ८ माघ – इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा लिगलिडर युभेन्टसले ३-० गोलअन्तरको शानदार जित निकालेको छ।
युभेन्टसले लिगमा अपराजित यात्रालाई निरन्तरता दिन घरेलु मैदानमा किएभोलाई पराजित गरेको हो। युभेन्टसका ब्राजिलियन फरवार्ड डोग्लास कोस्टाले खेलको १३ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएका थिए।
खेलमा हाबी रहेको युभेन्टसकाे अग्रता दोब्बर बनाउनका लागि पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाको पासलाई एम्रे च्यानले गोलमा परिणत गरे। दोस्रो हाफमा घरेलु टोली युभेन्टसले गोल गर्ने धेरै अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन।
स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि भने हिजोको खेल बिर्सनलायक साबित भयो। किएभोका मातिया बानिले पेनाल्टी क्षेत्रमा ह्याण्डबल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डो गोल गर्न चुके। उनको प्रहारलाई गोलरक्षक स्टेफनो सोरेन्टिनोले बचाएका थिए। यसबाहेक खेलमा उनी थुप्रै गोल गर्ने अवसरमा चुकेका थिए।
खेलको ८२ औं मिनेटमा डिफेण्डर ड्यानिएल रूगानीको गोलबाट युभेन्ट्सले जित सुनिश्चित गर्यो। फेडेरिको बर्नार्डेसकीको फ्रिकिकमा ड्यानिएल रूगानीले तेस्रो गोल गरे।
यस जितसँगै युभेन्ट्सले शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेको छ। २० खेलमा युभेन्टसले १८ जित र २ बराबरीसँगै ५६ अंक जोडेको छ। दोस्रो स्थानको नेपोलीको २० खेलमा ४७ अंक छ।