वालिङ, ७ माघ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीति संरक्षणबिना ठूला–ठूला भ्रष्टाचारका काण्ड सम्भव नहुने बताएका छन्।
स्याङ्जाको गल्याङमा कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अहिले चर्चामा रहेका वाइडबडी प्रकरण, एनसेल प्रकरण तथा बुढीगण्डकीको ठेक्का प्रकरणमा राजनीति संरक्षणमा भ्रष्टाचार भएको बताएका छन्।
पौडेलले भने, ‘वाइडबडीदेखि के–के काण्डको चर्चा छन्। यी सबै ठूला भ्रष्टाचारमा राजनीति संरक्षण नभई सम्भव छैन। मुलुकलाई सुमार्गमा लैजाने राजनीतिले मात्र विकास सम्भव छ। राजनीति नै भ्रष्ट भएपछि मुलुक कसरी अगाडि बढ्छ। त्यही भएर राजनीतिप्रति आमनागरिकमा वितृष्णा छ। यो लोकतन्त्रका लागि पनि खतरा हो।’
पौडेलले संसदमा प्रतिपक्षको भूमिका कमजोर भएको महसुस भएको स्वीकार्दै भने, ‘हामीले आफ्नो एजेण्डामा आन्दोलन गर्ने हो अरुको एजेण्डामा होइन, हाम्रा नेताहरुको नाम भएको अस्पताल मेटाउने रणनीतिमा वर्तमान सरकार छ। यो बेलामा कांग्रेसले प्रतिपक्षको हैसियत कायम गर्न सक्नुपर्छ।’
पौडेलले आमनागरिकले सरकार कहाँ छ भेटिएन भन्ने महसुस अवस्थामा प्रतिपक्ष सशक्त भएर अगाडि आउनु जरुरी रहेको स्पष्ट पारेका छन्।
कांग्रेस वरिष्ठ नेता पौडेलले पार्टीका केन्द्रीय नेताहरुले केन्द्रमा मात्र हात मिलाएर नहुने टिप्पणी गर्दै जिल्ला जिल्लामा पनि नेता कार्यकर्ताको मन मिलेर एक हुनु जरुरी रहेको बताएका छन्।
उनले भने, ‘नेताहरुले भन्दा कार्यकर्ताले गुटबन्दीको अन्त्य गर्न जरुरी छ। आम कार्यकर्ताले कुनै एक वा अर्को नेताको कार्यकर्ता नभएर पार्टीको कार्यकर्ता हुन जरुरी छ। आफु परिवर्तन भएर राष्ट्रलाई परिवर्तन गर्न जरुरी छ। नेताहरु स्वच्छ मानसिकता राखेर कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्छ अनि कार्यकर्ताहरुले पनि नेताहरुका गल्ती औँल्याउन सक्नुपर्छ। यसो भएमात्र पार्टी सुदृढ हुन्छ।’
पौडेलले कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेको बताउँदै सिद्धान्तको नै टुंगो नभएको राजनीति शक्तिबाट मुलुकले आशा गर्न नसक्ने स्पष्ट पारेका छन्।