धादिङ, ७ माघ – धादिङ जिल्लामै पहिलो पटक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आयोजना हुने भएको छ। जिल्ला स्काउट कार्यालयसँगकाे सहकार्यमा आगामी फागुन ५ देखि ७ गतेसम्म प्रतियाेगिता आयोजना गर्न लागिएकाे डण्डीबियो संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए।
सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने प्रतियोगिताले लोप हुन लागेको डण्डीबियाे खेललाई संरक्षण गर्न सहयाेग पुग्ने स्काउटका समन्वय आयुक्त शिव सापकोटाले बताए।
खेलकाे नियम सबैलाई जानकारी नहुने भएकाले सहभागी हुन चाहने विद्यालयका एक विद्यार्थी र एक शिक्षकका लागि स्काउटले प्रशिक्षणकाे पनि व्यवस्था गरेकाे छ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितियले ३० हजार, तृतियले २० हजार र सान्त्वना हुने समूहले १० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ।