लमजुङ, ७ माघ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन लमजुङको छैटौँ जिल्ला अधिवेशनमा बोल्दै सभापति देउवाले सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई उन्मुक्ति दिन लागिपरेको बताए। “सरकारले निर्मला पन्तको हत्यारालाई बचाउन घटनामा भेटिएका सबै प्रमाण नष्ट गरेको छ, देशमा हत्या हिंसाका घटनामा वृद्धि हुँदासमेत सरकार मूकदर्शक बनेको छ”, उनले भने।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले हावादारी गफ मात्र गरेकाे तर विकास निर्माणका क्षेत्रमा केही नगरेको आरोप लगाए। “नब्बे प्रतिशत राष्ट्रिय योजना कांग्रेस सरकारकै पालामा सुरुआत भएका हुन्”, उनले भने, “कम्युनिष्टहरू हावादारी कुरा मात्र गर्छन, काम केही गर्दैनन्, काम केही नगर्ने र अरुले गरेका राम्रा काम पनि आफैँले गरेको भन्दै हिँड्ने प्रवृत्ति कम्युनिष्टमा हावी भएकाले विकासले गति लिन सकेको छैन।”
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले भने, प्रेस युनियन एक भएपछि कांग्रेस पार्टी एकजुट हुने अपेक्षा छ। हामी सबै जिल्लामा प्रेस युनियनलाई एकढिक्का बनाउने अभियानमा लागेका छाैँ।