काठमाडौँ, ७ माघ – सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महराले प्रतिपक्षीको मागप्रति आफू पनि सकारात्मक रहेको बताए।
कांग्रेसका सांसदहरूले आसनबाट उठेर पटक पटक विरोध जनाएपछि सभामुख महराले मंगलबार अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए।
प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका बारेमा मन्त्री परिषदले कुनै निर्णय नगरिएकाेमा गुनासो गरेका थिए।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’, र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भू–उपयोग विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो। (रासस)