एजेन्सी, ७ माघ – इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। सिटीले लिग तालिकाको अन्तिममा भएको हडर्सफिल्ड टाउनलाई घरेलु मैदानमा ३–० ले स्तव्ध पारेको हो।
जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ‘लिग लिडर’ लिभरपुलसँग अंक दूरी पुनः चार अंकमा छोट्याएको छ।
खेलको १८औं मिनेटमा ब्राजिलियन डिफेण्डर ड्यानिलोले म्यानचेस्टर सिटीका लागि पहिलो गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए। त्यसपछि म्यानचेस्टर सिटीले खेलको दोस्रो हाफमा तीन मिनेटको बीचमा लगातार दुई गोल थप्यो।
निर्धारित समयको ५४ औं मिनेटमा राहिम स्टर्लिङले गोल गर्दै म्यानचेस्टर सिटीको अग्रता दोब्बर बनाए। ५६ औं मिनेटमा लेरोइ सानेले टोलीका लागि तेस्रो गोल थपेका थिए। सानेले प्रिमियर लिगको पछिल्ला १७ खेलमा आठ गोल गरेका छन् भने १२ गोलका लागि पास उपलब्ध गराएका छन्।
३८ हप्तासम्म चल्ने प्रतियोगिताको २३ औं चरणको खेलको समाप्तिपछि ६० अंकसहित लिभरपुल पहिलो र ५६ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छन्। त्यस्तै, टोट्टनहाम ५१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।
४७ अंकसहित चेल्सी चौथो, ४४ अंकसहित आर्सनल पाँचौं र समान अंक जोडेको म्यानचेस्टर युनाइटेड गाोलअन्तरका आधारमा छैटौं स्थानमा आसिन छन्। हडर्सफिल्ड भने ११ अंकसहित तालिकामा सबैभन्दा तल छ।