काठमाडौँ, ७ माघ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।
मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल संघ अन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो। तर ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले गरेकाे छैन।
राष्ट्रियसभाको साेमबारकाे बैठक शुरु हुने बित्तिकै कांग्रेसका सांसदहरू आआफ्ना आसनबाट उठेर विरोध जनाएका थिए। कांग्रेसका सांसद सरिता प्रसाईंले आफ्ना नेताका स्मृतिमा स्थापित ती दुई अस्पताल सञ्चालन गर्न किन सरकारले कुनै निर्णय नगरेको ? भनी प्रश्न गरिन्।
उनले नेपालको शान्ति प्रक्रिया, गणतन्त्र तथा नयाँ संविधान जारी गर्न गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले गरेको योगदानलाई भुल्न नहुनेमा जोड दिँदै आफ्नो प्रश्नकाे सरकारले सदनसमक्ष जवाफ दिन माग गरिन्।
त्यसपछि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल खारेज गर्ने निर्णय नभएको सदनलाई जानकारी गराए। उनले देशका विभिन्न नौ वटा अस्पताललाई संघअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको सदनलाई जानकारी दिए।
नेपाली कांग्रेसका सांसद सुरेन्द्र पाण्डेले विभिन्न नौ वटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गर्ने सरकारले नेपाली कांग्रेसका नेताका नाममा स्थापित भएका अस्पताल सञ्चालन गर्न किन निर्णय नभएको हो ? भनी प्रश्न गरे।
नेकपाका सांसद रामनारायण विडारीले प्रतिपक्ष उठ्ने र सत्ता पक्ष बस्ने यो कहाँको संसदीय परम्परा हो? भन्ने प्रश्न गरे। नेकपाकै डा. विमला पौडेलले आगामी दिनमा सदनले धेरै विधेयक पारित गर्नुपर्ने अवस्था रहेकाले सदन अवरुद्ध नगर्न आग्रह गरिन्।
अध्यक्ष गणेश तिमल्सिनाले कांग्रेस सांसदहरूलाई आआफ्नो स्थानमा आसन ग्रहण गर्न पटकपटक आग्रह गरेका थिए। तर सांसदहरूले आसन ग्रहण नगरेपछि अध्यक्ष तिमल्सिनाले बैठक आजै आधा घण्टामा लागि स्थगित गरे।