काठमाडौँ, ६ माघ – प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी हुन आइतबार राति स्वीट्जरल्याण्डतर्फ प्रस्थान गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई सम्बोधन सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्रीस्तरमा भाग लिन लागेको हो। बैठक यही माघ ८ देखि ११ गतेसम्म चल्ने छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख र विभिन्न व्यवसायीसँग भेटवार्ता गर्नेछन्।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारीहरुको सहभागीता रहने बताइएको छ।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।