काठमाडौँ - लामो समयको रस्साकस्सीपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केही प्रदेश सहइन्चार्ज थप्दै केन्द्रीय विभागका प्रमुख, उपप्रमुखको टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र २ जना कार्यालय सचिवको जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो।
सातै प्रदेशमा केही सहइन्चार्ज थप गरिएको छ। प्रदेश इन्चार्ज भनेनेकपा यसअघि नै चयन गरिसकेको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबन्डाका आधारमा प्रदेश १ को सहइन्चार्जमा नरेश खरेल र शेरधन राई, २ मा नागेन्द्र चौधरी, महेन्द्र पासवान, ३ मा काशीनाथ अधिकारी र हितमान शाक्यलाई जिम्मेवारी दिइएको छ।
यस्तै गण्डकी प्रदेशमा किरण गुरुङ, यशोदा सुवेदी गुरुङ, प्रदेश ५ मा कुलप्रसाद केसी, वैजनाथ चौधरी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल, प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट, भानुभक्त जैसीले सहइन्चार्जको जिम्मेवारी पाएका छन्।
स्कुल विभागमा ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलाई प्रचार विभागको जिम्मेवारी दिइएको छ। विदेश विभागको प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डेको नाम तय भएको छ।