काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कहिले काँही पार्टी एकता गरेर गल्ती गरेको महसुस हुन थालेको बताएका छन्। राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार राजधानी काठमाडौँमा गरेको अन्तक्रिया कार्यक्रममा नेकपा एकताको ९० प्रतिशत काम सकिएका बेला प्रचण्डले पश्चतापको अनुभूति हुने गरेको अभिव्यक्ति दिएका छन्।
‘किन हो किन कतिपय बेला पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ’ प्रचण्डले भने, ‘कतिपय बिषयमा चित्त नबुझदा पनि निर्णय लिनुपर्ने बाध्यता आइलागेको छ।’ उनले पार्टीलाई र एकतालाई बलियो बनाउन चित्त नबुझेका कुरामा पनि सम्झौता गर्ने गरेको खुलासा गरे।
पार्टी एकतालाई बलियो बनाउन नेकपाको सचिवालय बैंठकले लामो छलफलपछि महत्वपूर्ण निर्णय लिएको बताए। तर निर्णयप्रति आफु पूर्णरुपमा सन्तुष्ट नभएको संकेत पनि गरे। उनले कम्युनिस्ट पार्टीका लागि यतिबेला अवसर र चुनौति दुबै भएको बताउँदै केही गर्न नसके इतिहासले धिकार्ने बताए।
दाहालले चिकित्सकहरुको पेशालाई मानवतासँग जोडेर हेर्न आग्रह गरे। पेशालाई सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई बस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताए।