काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षमा बामदेव गौतमलाई चयन गरिएको छ। शुक्रबार बसेको सविचालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने सहमति गरेको थियो। उक्त प्रस्ताव स्थायी समितिमा पठाउने निर्णय गरेसँगै पार्टीका नेता कार्यकर्ताले उनलाई बधाई दिएका छन्। सामाजिक सञ्जालदेखी प्रत्येक्ष भेटेररै जिम्मेवारी थपिएको भन्दै प्रभावकारी भूमिका खेल्न आग्रह गरेका छन्।
तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणको सुत्रधारको भूमिका खेलेका गौतम एकतापछि निकै असन्तुष्ट थिए। प्रतिनिधिसभाको चुनावसमेत हारेपछि त उनको राजकीय भूमिका सक्रिय हुने योजनासमेत सफल भएन। त्यसैले उनले पार्टीभित्र वा कुनै राजनीतिक नियुक्तिमार्फत कुनै भूमिका दिन नेताहरुलाई आग्रह गरेका थिए।
पार्टीभित्र आफ्नो भूमिकाको ओलीले कदर नगरेको भन्ने उनको गुनासो थियो। त्यसैले उनले गत पुसको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीलाई आलोचना गर्दै १६ पृष्ठको छुट्टै प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमा अध्यक्ष ओली नेतृत्व सरकारको कामकारबाही ठीक नभएको मात्र होइन ‘एक व्यक्ति एक पद’ को नीतिमा जानुपर्ने प्रस्ताव गरेका थिए।
उनले पार्टीको अध्यक्ष पनि र प्रधानमन्त्री पनि एउटै व्यक्ति हुँदा काम हुन नसकेको भन्ने प्रतिवेदनमा उल्लेख गरेका थिए। ओलीको क्याम्पका नेता गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहालको पक्ष लिने गरी भूमिका खेलेपछि नेकपाभित्रको ओली समूहमा उनलाई आफ्नै क्याम्पमा फर्काउने प्रयास जारी थियो।
पछिल्लो समय विभागहरुको जिम्मेवारी दिने सन्दर्भमा गौतमले संगठन विभागको जिम्मेवारी खोजे। त्यो विभाग उनलाई दिने सहमति यसअघि नै भएको थियो। तर, विभागको विगतमा खेलेको भूमिकाको कदर गर्ने आफूलाई सम्मानित हुने पोजिसनमा राख्नुपर्ने गौतमको माग थियो। त्यसैले उनलाई सचिवालय सदस्यको पदबाट बढुवा गरेर उपाध्यक्ष बनाउने सहमति सचिवालयमा भएको हो।
प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केपछि गत मंगलबार तीन घण्टा नेता गौतमसँग बालुवाटरमा एक्लै बैठक गरेका थिए। त्यसपछि बुधबार अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएको थियो। अध्यक्षद्वयको छलफलबाट शुक्रबार गौतम उपाध्यक्षमा सिफारिस भएका हुन्। सचिवालयले गरेको निर्णय अब स्थायी समितिमा छलफल हुनेछ।