काठमाडौँ, ६ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकास समृद्धि ल्याउने लक्ष्यमा अडिग रहेको बताएका छन्।
कांग्रेस त्यागेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका चितवनका पूर्व सांसद तीर्थराज भूषाललाई स्वागत गर्दै ओलीले सरकारको समृद्धिप्रतिको प्रतिवद्धता दोहोर्याएका हुन्।
नेकपाको विधान र घोषणा पत्र अनुसार नै सरकारले आफ्ना कार्यक्रमहरु अघि बढाउने प्रधानमन्त्री ओलीले बताए।
‘विकास र समृद्धि नेकपा कै नीति र कार्यक्र अनुसार आउँछ यसमा ढुक्क हुनुहोस्। सरकार यही नीति र कार्यक्रम अनुसार अघि बढ्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरिसकेकोले अब विकासमा अझ गतिका साथ अगाडि बढ्ने बताए।
‘संविधान कार्यान्वयनका लागि आवश्यक कानुनको निर्माण गर्नुपर्दा अलिकति समय लाग्यो,’ उनले भने, ‘कानुन निर्माणका काम अब सकिएकाले विकासमा थप गतिका साथ अब सरकार अघि बढ्छ।’
ओलीले पार्टी एकताबद्ध भएर अघि बढेको बताए। ‘पार्टीमा बहस, विवाद र छलफल हुन्छन्,’ उनले भने, ‘तर, निर्णय सर्वसम्मत हुन्छन्।’