काठमाडौँ, ५ माघ – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाइडबडी विमान खरिद प्रकरण पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सहमतिमा भएको आरोप लगाएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लोहनीले भने, ‘यो काण्ड दुई पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा सहमतिमा भएको देखिएको छ। यसमा को के पदमा छ भन्ने प्रश्नलाई गौण राखी दोषी जोसुकै भए पनि छानबिन गरी निष्कर्षमा पुग्नपर्छ भन्ने हाम्रो पार्टीको माग हो।’
डा. लोहनीले वाइडबडी जहाज खरिद काण्डमा बहालवाला पर्यटनमन्त्री रबिन्द्र अधिकारीले संसद्लाई ढाँटेको आरोप लगाए। उनले भने, ‘संसद्लाई ढाँट्नु भनेको ‘अब्स्ट्रक्शन अफ जस्टिस’ हो। अरू देशमा भएको भए कारबाही हुन्थ्यो।’ यस प्रकरणमा छानबिन गर्न र सत्यतथ्य बाहिर ल्याउन पर्यटनमन्त्री अधिकारीले तत्काल राजीनामा दिनुपर्ने पनि उनले माग गरे।
डा. लोहनीले भने भने, ‘लेखा समितिले कारवाहीको सिफारिस गरेको छ। यो अवस्थामा पर्यटनमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्दछ र अख्तियारले छानबिन शुरु गर्नुपर्छ।’
उनले अनशनरत डा. गोविन्द केसीसँग सरकारले पटक–पटक सम्झौता गरेको तर त्यसलाई कार्यान्वयन नगरी उपेक्षा गरेको पनि आरोप लगाए। डा. लोहनीले भने, ‘सरकारले पन्ध्रौँ अनशनपश्चात् जुन सम्झौता गरेको छ, त्यसलाई पालना गरी आफ्नो प्रतिबद्धताप्रति वर्तमान प्रधानमन्त्री ओलीजीले इमानदारिता देखाउनु पर्छ।’
मुलुकमा पछिल्लो समय भ्रष्टाचार व्याप्त हुँदै गएको पनि डा. लोहनीले बताए। उनले भने, ‘साढे ३३ केजी सुन प्रकरणमा जनता अब थाकिसके। फाइल प्रधानमन्त्रीकहाँ अड्किएको छ।’
नेपालबाट अर्बाैंको धन विदेश लैजाने यथार्थता जनतासामू आएको उल्लेख गर्दै उनले भने, ‘नेपालको धन स्वीस बैंकमा जम्मा गर्नु स्पष्ट गैरकानुनी हो। रकम जम्मा गर्ने को हुन्? र, कसरी उनीहरूले जम्मा गरे? यस विषयमा सरकारले तुरुन्त अनुसन्धान गरी कारबाही गर्नुपर्छ।’
यस्तै उनले निर्मला हत्याकाण्ड अहिलेसम्म सबै नेपालीका लागि पीडाको विषय भएको बताए। उनले भने, ‘हत्या प्रकरणमा प्रमाण नष्ट गर्नेलाई ६ महिनासम्ममा पनि सरकारले कारवाही गरेन। सरकारले यो प्रकरणमा विभिन्न टोली गठन गर्ने सिवाय केही काम गरेको छैन।’ निर्मला प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नालायकीपन देखाएको पनि उनले आरोप लगाए।
फरक प्रसङ्गमा उनले आफूहरू अब राप्रपासँग मात्रै नभई देशभरिका प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य र एकता गर्ने पक्षमा रहेको स्पष्ट पारे।