काठमाडौँ, ५ माघ– नेपाली राष्ट्रिय महिला क्रिकेट टोली थाइल्याण्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगिता २०१९ काे उपविजेतामै सीमित भएको छ।
बैंकककाे टेर्ड थाई क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलकाे नतिजा विपक्षी थाइल्याण्डलाई सुम्पदै नेपालले उपविजेतामै चित्त बुझाएकाे छ। १२२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपाली टाेलीले ५१ रनमै सम्पूर्ण विकेट गुमाएकाे थियाे।
नेपालले राम्रो शुरुवात गर्न सकेन। ओपनर काजल श्रेष्ठ रनआउट हुँदै पहिलो ओभरमा एक रन बनाएर आउट भएलगत्तै दोस्रो ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन्।
पाँचौ ओभरमा प्रतियोगितामा उत्कृष्ट लयमा रहेकी सीता राना मगरले १३ तथा नेरी थापाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन्। त्यस्तै रोमा थापा दुई, सरिता मगर पाँच, कप्तान रुबिना क्षेत्री पाँच र करुना भण्डारी चार रन तथा डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल १७.२ ओभरमा ५१ रनमा समेटियो।
यअघि टस हारेर पहिलो ब्याटिङ गरेको थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो। थाइल्याण्डका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन्। यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रनकाे याेगदान दिइन्।
समूह चरणमा अपराजित रहेकाे नेपालले सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले पराजित गरेको थियो।
थाइल्याण्डमा हुने आइसिसि ट्वान्टी–२० विश्वकप छनाैट प्रतियोगिताको तयारीस्वरुप थाइल्याण्डले नै १० टोली सहभागी यस प्रतियोगिताको आयोजना गरेको थियो।