काठमाडौँ - तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जनयुद्धको अन्तिम आक्रमणमा परेको पिलीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा राजधानीको माइतिघरमा दीप प्रज्वलन गरिएको छ। शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको थियो।
दीप प्रज्वलन कार्यक्रमलाई संबोधन गर्दै पिली मोर्चामा सहभागी तत्कालीन जनमुक्ति सेनाका डिभिजन सहकमाण्डर तथा राष्ट्रिय सभाका सांसद जीवन बुढाले पिली मोर्चामा शहादत प्राप्त गर्ने २९ जना शहीदहरुको सपना पुरा गर्ने दिशामा आफू कटिबद्ध भएको बताए।
त्यस्तै अधिबक्ता एकराज भण्डारीले शहीदका सपना अहिले पनि पुरा नभएको भन्दै आफू शहीदका सपना पुरा गर्न लागि परेको तर कतिपयले शहीदको बलिदानमा मोजमस्ती गरिरहेको बताए।
दीप प्रज्वलन कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सदस्य लक्ष्मी चौलागाई, अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, कालिकोट जिल्ला पलाँता गापाका अध्यक्ष लक्ष्मण बम ‘पलाँती कान्छा’, जनयुद्धका शहीद चन्द्रमणी जैसीका छोरा कपिल सुवेदी, शहीद जैसीका भाइ तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसी लगायतका बक्ताहरूले आफ्ना कुराहरू राखेका थिए।
२०६२ साल साउन २३ गते कालीकोटको पिलीमा रहेको तत्कालीन शाही नेपाली सेनाको ब्यारेकमा तत्कालीन माओवादीले आक्रमण गरि ६० जना शाही नेपाली सेनालाई कब्जामा लिएको थियो। डेढ सातापछि उनीहरूलाई छोडेका थिए। त्यही लडाइको क्रममा माओवादीका तर्फबाट शहीद चन्द्रमणी जैसी लगायत २९ जनाले ज्यान गुमाएका थिए।