विराटनगर - राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले बुधबार आह्वान गरेको बन्दले सामान्य प्रभाव परेको छ। सो पार्टीले अरुण पूर्वका नौ जिल्ला बन्दको आब्हान गरेको भए पनि त्यसको सामान्य प्रभाव परेको छ।
बन्दको प्रभाव पहाडी क्षेत्रमा परेको छ भने महेन्द्र राजमार्गदेखि दक्षिणी क्षेत्रमा त्यसको कुनै असर परेन। परिषदको बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, तेह्रथुम, धनकुटा र संखुवासभा जिल्लामा यातायात र बजार ठप्प भएको छ।
उक्त क्षेत्रमा प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन चलेनन्। बजार, पसल, कलकारखाना पनि बन्द रहे। महेन्द्र राजमार्गदेखि दक्षिणी क्षेत्रमा भने बन्दको असर परेन। ती क्षेत्रमा बजार, पसल, कलकारखाना तथा शैक्षिक संस्था नियमित जसरी नै सञ्चालनमा आए।
वि.सं. १८३१ साल साउन २२ गतेकै दिन लिम्बुवानको तत्कालीन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै परिषदले कालो दिनको रूपमा मनाउँदै आएको छ। २०६६ सालदेखि आजको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो।