काठमाडौँ - नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले दुई तिहाइको सरकारले संविधानलाई स्वीकार नगरेको आरोप लगाएकी छन्। बुधबार संसद बैठकमा बोल्दै सांसद भुसालले यस्ताे आरोप लगाएकी हुन्।
सांसद भुसालले संवैधानिक व्यवस्थाअनुसार राज्यका हरेक तह, स्थान र सरकारमा ३३ प्रतिशत महिलाहरू सहभागिता गराउन नसकेको भन्दै सरकारको आलोचना गरेकी छन्।
उनले भनिन्,‘संविधानमा व्यवस्था भए अनुसार ३३ प्रतिशत महिला सहभागिता गराउने कुराप्रति सरकार बेखबर देखिन्छ। सरकार होस् या अन्य कुनै पनि क्षेत्रमा महिला सहभागिता कम छ। यसका बारेमा सरकार किन गम्भिर बन्दैन ? यसको सिधा उत्तर हो, सरकार संविधानप्रति इमान्दार छैन।’
निर्वाचन कानून संशोधन गर्नको लागि महिला मन्त्रालय तयार छ कि छैन भनेर महिला तथा बालबालिका मन्त्री थममाया थापालाई भुसालले प्रश्न गरेकी छन्।