पोखरा - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार जर्मनीका तत्कालीन चान्सलर एडोल्फ हिटलरको शैलीमा सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन्।
मंगलबार पोखरामा आयोजित ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार अर्पण समारोह’लाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘जसरी तत्कालीन जर्मनी शासक हिटलरले प्रजातान्त्रिक पद्धतिअनुसार निर्वाचित भई संसद कब्जा गरी निरंकुश बनेका थिए, त्यसरी नै प्रधानमन्त्री ओली संसद कब्जा गरी निरंकुश बन्न खोज्दै छन्।’
प्रजातन्त्र स्थापनका लागि लामो लडाइँ लडेको नेपाली प्रेसको अधिकारलाई कुण्ठित गरी मुलुकमा कम्युनिष्ट तानाशाही लाद्ने गरी ओली सरकार हिटलरको शैलीमा अगाडि बढेको आरोप लगाएका हुन्। ‘प्रजातन्त्र र लोकतन्त्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रेसलाई निरुत्साहित गर्न ओली सरकारले प्रेसविरोधी कानून ल्याएर नियन्त्रण गर्न खोजेको छ,’ उनले भने, ‘प्रेसलाई नियन्त्रण गरेर हिटलर शैलीको शासन गर्ने ओली सरकारको सपना कांग्रेसले कुनै पनि हालतमा पूरा हुन दिने छैन।’
उनले सरकारले संसद्मा पेश गर्न लागेको प्रेस विरोधी कानूनलाई कुनै पनि हालतमा पास हुन नदिने दाबी गरे। ‘हामीले कुनै कुर्सी र टेबुल नभाँची संसदबाटै प्रेस विरोधी कानूनलाई फिर्ता लिन बाध्य पार्नेछौँ,’ उनले भने।
‘निरङ्कुश प्रधानमन्त्री केपी ओलीले चाल्ने प्रजातन्त्रविरोधी कदमका विरुद्व नेपाली कांग्रेसले सदन र सडक तताउँछौँ,’ देउवाले भने, ‘कांग्रेसको विरोध सदनमा कुर्ची तोडफोड र सडक बन्द होइन, शान्तिपूर्ण विरोध हुनेछ, जसका कारण आमनागरिकलाई कांग्रेसले आफ्नो पक्षमा ल्याउन सक्नेछ।’
‘केपी नेतृत्वको सरकारले चाल्ने प्रजातन्त्रविरोधी कार्यको डटेर विरोध गर्छौं, डेढ वर्ष हेर्यौँ, अब चुप लागेर बस्दैनौँ,’ उनले भने।
स्वतन्त्र प्रेसलाई नै अंकुश लगाउने गरी ल्याइएको प्रेस काउन्सिल विधेयक नेपाली कांग्रेसले कुनै पनि हातलमा संसदबाट पास हुन नदिने र त्यस विधेयकको विरोधमा कांग्रेस डटेर लड्ने उनको भनाइ थियो।
त्यस्तै, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने कार्य अगाडि बढेको र साउन महिनादेखि ठूला मिडिया हाउसले श्रमजीवी पत्रकारको पारिश्रमिक बैंकमार्फत दिने भएका छन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पुरस्कृत व्यक्तित्व रवीन्द्र बाँस्तोला, अग्रज पत्रकार नारायण कार्की, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस कास्कीका सभापति कृष केसी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीलगायतले स्वतन्त्र पत्रकारिताको पक्षमा आफ्ना भनाइ राखेका थिए। पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ।