काठमाडौँ, ५ माघ –प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आइतबारबाट हुने छदिने स्वीट्जरल्यान्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गरेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म हुने उक्त भ्रमण र स्वीट्जरल्यान्डको डाबसमा हुन लागेको ‘वर्ल्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले प्रधानमन्त्रीले यो फोरममार्फत नेपालको आफ्नो आर्थिक नीति पनि शेयर गर्ने जनाए। उनले भने, ‘नेपालमा अहिले राजनीतिक स्थायित्व भएको छ। अब आर्थिक विकास र समृद्धिलाई बढावा दिइरहेका छौँ भनेर उहाँले आफ्नो धारणा राख्नुहुनेछ।’
मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्य पूरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने उनको भनाइ थियो। “मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न सम्मेलनले थोरै भए पनि सहयोग पुर्याउनेछ,” उनले भने। नेपाल लगानीका लागि अनुकूल छ भनेर प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने बताउँदै उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न यो फोरम उपयुक्त हो।’
उनका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा तीनवटा महत्त्वपूर्ण प्यानलमा प्रमुक्त वक्ताका रूपमा बोल्ने कार्यक्रम तय भएको छ। उनले भने, ‘प्रधानमन्त्रीले स्ट्राटेजी आउटलुक अन साउथ एसियामा पनि बोल्नुहुन्छ। अर्को, सेपिङ द फ्युचर अफ डेमोक्रेसी भन्ने प्यानलमा पनि भाग लिनुहुनेछ। त्यस्तै उहाँले जी–२० का केही हेड अफ द स्टेट र प्रभावशाली नेताहरू सम्मिलित हुने प्यानलमा पनि वक्ताका रूपमा सहभागी जनाउनु हुनेछ।’ यसका अलावा प्रधानमन्त्रीले भियतनामका प्रधानमन्त्री र इजरायलका प्रधानमन्त्रीसँग पनि साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्री ओली उक्त सम्मेलनमा भाग लिन जानु खुशीको कुरा भएको स्पष्ट पारेका छन्। उनले भने, ‘उहाँको पार्टीले जे जस्तो नीति लिए पनि, उहाँ घोर पूँजीवादीहरू आउने फोरममा सहभागी हुन जाँदै हुनुहुन्छ, यो राम्रो कुरा हो।’
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओली यसरी सम्मेलनमा भाग लिन जानु नेपालका लागि अवसरको विषय भएको बताए। उनले डाबस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने सुझाव दिए।
स्वीट्जरल्यान्डका लागि पूर्व नेपाली राजदूत डा. शम्भुराम सिम्खडाले सम्मेलनको मुख्य एजेन्डा प्रविधिको विकास र वातावरण प्रभाव भए पनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनुपर्ने धारणा राखे। सिम्खडाले प्रधानमन्त्रीको भनाइ र गराइमा फरक देखिन नहुने धारणा राखे। त्यस्तै उनले नेपालले कूटनीतिक क्षेत्रमा आफ्नो परिपक्वता देखाउनुपर्ने पनि धारणा राखे।