काठमाडौँ, ५ माघ – नेपाल विद्यार्थी संघका नेताहरूले संघका अध्यक्ष नैनसिंह महरले आगामी माघ १० गतेअघि कुनै पनि गतिविधि गरे अनपेक्षित कारवाही हुने चेतावनी दिएका छन्।
नेविसंघका काठमाडौँ जिल्ला अध्यक्ष मनोज वैद्यले आगामी १० गतेभित्र संघका सभापति महरलाई संगठनका बारेमा कुनै पनि काम नगर्न चेतावनी दिए। ‘सभापति महरले थपिएको समयमा पनि महाधिवेशन गर्न सक्नुभएन। अबका बाँकी दिनमा के नै गर्नुहुन्छ र? त्यसैले कुनै पनि काम नगर्नुहोस्, यदि काम गरेको फेला पारिएको खण्डमा खतरा हुनेछ, म सचेत गराउन चाहन्छु’, वैद्यले भनेका छन्।
‘महर निकम्मा बन्नुभएको छ, उहाँले लाखौँ विद्यार्थीको भावनालाई बुझ्न सक्नुभएन। संगठनको हितविपरीत, विधानविपरीत चल्नुभयो,’ वर्तमान नेतत्व अवैध बनिसकेको बताउँदै वैद्यले भने, ‘तदर्थ समितिभन्दा बाहिर अर्को निर्णय भयो भने पार्टी कार्यालयमा हजारौँ विद्यार्थीको जुलुस लाग्नेछ, त्यसको नेतृत्व नेविसंघ काठमाडौँले गर्नेछ।’
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सरोजकुमार थापाले अध्यक्ष महरको व्यक्तिगत स्वार्थका कारण महाधिवेशन हुन नसकेको आरोप लगाए।
महामन्त्री थापाले भने, ‘२ वर्षको समय सकियो, कुनै काम भएन, समयमा केन्द्रीय समितिको बैठक बस्न सकेन, बारम्बार थपेको समय सकिँदा पनि नेतृत्वले नैतिक रूपमा राजीनामा दिएर मार्गप्रश्स्त गर्न सकेन।’
त्यस्तै नेविसंघका अर्का नेता दीपक भट्टराईले सभापति महर र महामन्त्री कुन्दनराज काफ्लेका कारण नेविसंघको १२औँ महाधिवेशन हुन नसकेको आरोप लगाए। संघका केन्द्रीय सदस्य भोला नेपालले आगामी माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले हालको नेतृत्वलाई खारेज गरेर तदर्थ समिति गठन गर्नुपर्ने माग गरे।