कास्की, ५ माघ – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन्।
कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) प्रदेश कार्यसमिति गण्डकीले शनिबार पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा उनले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यताको खिलाप कर्मचारी, प्रहरीलगायतमा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको भनाइ राखे।
सभापति देउवाले भोलिका दिनमा सेना तथा न्यायालयमा समेत हस्तक्षेप गर्ने सम्भावना बढेको भनाइ राख्दै सरकारले शिक्षा, निजामती ऐन लगायतका माध्यमबाट कर्मचारी, प्रहरी, सेना लगायतलाई समेत पार्टीका प्रति प्रतिबद्ध बनाउँदै हस्तक्षेप र नियन्त्रण गरिरहेको बताए।
“वर्तमान सरकारले कर्मचारीतन्त्र, प्रहरी तथा न्यायालयमा हस्तक्षेप गरेर कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ,” सभापति देउवाले भने, “हस्तक्षेप रहिरहेमा सदनमा मात्र नभई सडकमा पनि जानुपर्ने अवस्था आउन सक्छ।”
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले काम गर्ने अवसरको सदुपयोग गर्न नसकेको आरोप लगाए। देशमा अहिलेजस्तो राजनीतिक स्थिरता र शान्ति यसअघि कहिल्यै पनि प्राप्त हुन नसकेको भन्दै उनले भने, “अवसर पाउँदा पनि सरकार अवसरको सदुपयोग गर्न असफल भयो।”
नेता पौडेलले सरकारले देशलाई विकासको बाटोमा लान नसकेको र विकासका काम अहिले अलपत्र परेको बताए। कार्यक्रममा निजामती कर्मचारी सङ्घसँग आबद्ध भएर सङ्घको विकासमा योगदान पुर्याउने प्रदेशका ११ वटै जिल्लाबाट एक/एक जनालाई सम्मान गरिएको थियो। (रासस)