काठमाडौँ – सरकारले ८ जनाको नागरिकता रद्द गरेको छ। झुटो विवरण पेस गरी नागरिकता लिने ८ जनाको नागरिकता रद्द गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बताए।
आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गत साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकले ८ जनाको नागरिकता रद्द गर्ने निर्णय भएको सुनाए। नगारिकता रद्द हुनेमा अशोक साह, बिन्दे महतो, वैवाहिक अंगिकृतको नागरिकता लिएकी उनकी श्रीमती दानादेवी महतो, दानादेवीकी बुहारी सोसील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेका छन्।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय गरिएकोसमेत जानकारी दिए। मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको थियो। आयोगको सिफारिसअनुसार सरकारले उपनिर्वाचनको मिति घोषणा गरेको हो।
मन्त्रिपरिषद् बैठकले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते भएका अर्जुन भण्डारालाई राहत स्वरुप मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। गत भदौ ७ गते निर्मलाका लागि न्याय माग्ने क्रममा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भण्डाराको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको र अझै होस खुलेको छैन।
सशस्त्रका तीन जना एआईजीको सरुवा गरिएको छ। मन्त्रिपरिषद् बैठकले एआईजी पुष्पराम केसीलाई सीमा सुरक्षा विभागबाट प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको छ भने सीमा सुरक्षा विभागमा मानव स्रोत विभागमा रहेका एआईजी नारायण बाबु थापालाई पठाएको छ।
प्रधान कार्यालयको मानव स्रोत विभागमा प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी रामशरण पौडेललाई खटाइएको बाँस्कोटाले बताए।