कास्की - प्रधानमन्त्री केपी ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन्। केही दिनअघि बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरे पनि गौतमले अहिले चुनाव लड्ने मुड नभएको बताएकोे उनीनिकट स्रोतले जनाएको छ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्कीको निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रधानमन्त्री ओलीले नेता गौतमलाई प्रस्ताव गरेका थिए। तर, गौतमले रवीन्द्रकी पत्नी विद्या भट्टराईलाई नै चुनाव लडाउनुपर्ने प्रस्ताव गरेका छन्।
‘मलाई अहिले चुनाव लड्ने मुड छैन, विद्यार्थी राजनीति गरेकी विद्यालाई चुनाव लडाउँदा ठिक हुन्छ। उनले रवीन्द्रको राजनीतिक जीवनलाई साथ दिन आफ्नो राजनीतिक क्षमतालाई गुमनाम बनाएकी छिन्’ गौतमले ओलीलाई जवाफ फर्काएका हुन। नागरिक दैनिकले खबर छापेको छ।