काठमाडौँ – आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले आदिवासी जनजातिलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको बताएका छन्। नेपाल माझी महिला उत्थान संघले आयोजना गरेको सचेतना कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले सो कुरा बताएका हुन्।
उनले २ करोड बजेट कार्यान्वयनको लागि ४ करोड प्रशासनिक खर्च छुट्याएर सरकारले अचम्मको नीति अपनाएको बताए। कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मोहनबहादुर बिष्टले माझी समुदायको विकास र उत्थानको लागि वडाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा ३ नंं. प्रदेशसभा सदस्य तथा नेपाल माझी महिला उत्थान संघकी अध्यक्ष रिता माझीले माझी समुदायको विकास र उत्थानको लागि सजग भई अगाडि बढ्नुपर्ने बताइन्। उनले आगामी कार्यक्रम सिन्धुपाल्चोकको इन्द्रावती र काभ्रेपलाञ्चोकको मण्डन देउपुरमा सञ्चालन हुने जानकारी गराइन्।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनीमाया माझी, नेपाल माझी उत्थान संघका सल्लाहकार धनबहादुर माझी, नेपाल माझी विद्यार्थी संघका महासचिव कर्णबहादुर माझी, माझी चलचित्रकर्मी संघका अध्यक्ष बिन्दु माझी, माझी अनुसन्धान तथा अध्ययन विकासका सचिव हरिबहादुर माझी, सल्लेपानी देवी सामाजिक संस्थाका सचिव सूर्य माझी, नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य सन्तबहादुर माझी लगायतले कार्यक्रम सफलताको शुभकामना दिए। उनीहरुले विकास र उत्थानमा यो कार्यक्रमपछि सबै महिला नेतृत्व आफ्नो समाज र समुदायमा लाग्न अनुरोध गरे।
कार्यक्रममा आईएलओ १६९ को बारेमा दिनेश घले, दिगो विकासको लक्ष्यबारे दुर्गा याम्फु राई र भाषिक अवस्थाबारे धनबहादुर माझीले प्रशिक्षण दिएका थिए। आदिवासी जनजातिहरुको अधिकारका लागि वकिल समूह (लाहुर्निप)को आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम आइतबार सम्पन्न हुनेछ।