पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङलाई भेटेर वडाअध्यक्षहरुको एक समूहले आफ्नो मर्यादाक्रम निर्धारण गरिदिन माग गरेका छन्। मुख्यमन्त्रीसँगको भेटमा उनीहरुले निर्वाचित जनप्रतिनिधि भएर पनि सरकारले आफूहरुलाई मर्यादाक्रममा समावेश नगरेको भन्दै रोष प्रकट गरेका थिए।
‘हामी निर्वाचित जनप्रतिनिधि हौँ। हाम्रो हैसियत के हो? प्रष्ट पारी दिनुपर्यो,’ उनीहरुले मुख्यमन्त्री गुरुङसमक्ष गुनासो व्यक्त गरेका थिए। बाग्लुङ जिल्लाको ४ स्थानीय तहका करिब २ दर्जन वडाध्यक्षहरुको समूहले मुख्यमन्त्री गुरुङसँग भेट गरेका थिए।
गृह मन्त्रालयको मर्यादाक्रममा वडाध्यक्ष र सदस्यहरुको मर्यादाक्रम कहाँ, कसरी हुने भनी केही पनि उल्लेख छैन। उनीहरुले वडा सदस्य कार्यपालिका सदस्य बनेपछि केही व्यवहारिक कठिनाई देखिएको विषयसमेत मुख्यमन्त्री गुरुङलाई बताएका थिए। कार्यपालिका सदस्य र वडा अध्यक्षको हैसियत बराबर हुने व्याख्याले कठिनाई देखिएको वडाध्यक्षहरुको भनाइ छ।
जवाफमा मुख्यमन्त्री गुरुङले नयाँ मर्यादाक्रममा वडाध्यक्षहरुलाई अन्याय भएको बताए। वडाध्यक्ष मात्र नभएर प्रदेश नीति तथा योजना आयोगजस्ता अन्य सरकारी निकायबारे नै मर्यादाक्रममा उल्लेख नभएको मुख्यमन्त्री गुरुङले बताए। संघीय सरकारसँग आफूले यसबारेमा कुरा उठाइरहेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले यो समस्या चाँडै अन्त्य हुने आशा व्यक्त गरे। जनप्रतिनिधिहरुले पनि आफ्नो मर्यादामा आँच आउने काम गर्न नहुने मुख्यमन्त्री गुरुङले बताए।