काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ।
आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको हो। अहिले प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ वटा क्षेत्रमा जनप्रतिनिधि छैनन्।
गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ।
यस्तै, प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली भएको हो।
त्यसैगरी स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त छन्। यसअघि हिजै आयोगले दलहरुसँग उप निर्वाचनबारे छलफल गरेको थियो।