काठमाडौँ - भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालमाथि भारतले कुनै पनि षड्यन्त्रकारी योजना (ग्रान्ड डिजाइन) नबनाएको र हस्तक्षेपको भावना भएको भन्दै शंका नगर्न आग्रह गरेका छन्।
नेपाल-भारत मैत्री समाजले शुक्रबार ललितपुरको होटल हिमालयमा दुई देशको सम्बन्धका बारेमा आयोजना गरेको कार्यक्रममा बोल्दै चौथाइवालेले यस्तो अनुरोध गरेका हुन्। भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समन्त गोयल हालै सुटुक्क नेपाल आएर फर्केपछि उठेका प्रश्नहरूलाई सम्बोधन हुने गरी उनले आफ्नो देशको त्यस्तो कुनै मनसाय नभएको बताएका हुन् ।
उनले भने, ‘भारतले नेपालविरुद्ध ठूलै ग्रान्ड डिजाइन तयार पारिरहेको छ भन्ने आशंका धेरैमा देखिरहेको छु। भारतको त्यस्तो कुनै उद्देश्य छैन । नेपाल स्वतन्त्र देश हो, उसले आफ्नो इच्छाअनुसार काम गर्न र वैदेशिक सम्बन्ध अघि बढाउन सक्छ भन्ने हेक्का हामीलाई छ।’
‘नेपालको विकास र समृद्धि भारतको पनि हितमा छ, त्यसैले यहाँ कुनै अस्थिरता ल्याउने र शान्ति खलल पार्ने काम हामीबाट हुँदैन,’ उनले भने । भारतले असंलग्न परराष्ट्र नीति त्यागेको उनले बताए । ‘भारतले पहिले असंलग्न परराष्ट्र नीति अख्तियार गर्दै आएको थियो, अब त्यो त्याग गरेको छ,’ उनले भने, ‘अबआफ्नो हितका आधारमा विश्व मामिलामा संलग्न हुन थालेको छ, नेपालसँग पनि यही आधारमा सम्बन्ध अघि बढ्छ ।’
पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महतले भारतसँगको व्यापार घाटा कम गराउनका लागि लचक हुन, बर्सेनि हुने तराईको डुबान रोक्नका लागि पहिल्यै सम्झौता भएका कर्णाली चिसापानी, कोसी उच्च बाँध, महाकाली, पञ्चेश्वरलगायत परियोजना अघि बढाउन र सीमामा हुने समस्या आपसी छलफलबाट सल्टाउन भारतलाई आग्रह गरे। कार्यक्रममा सुजाता कोइराला, डा. गोविन्द पोखरेल, हिसिला यमीलगायत देशका विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिरूको उल्लेख्य सहभागिता रहेको थियो।